विभाजित जीवनका रंगहरू!
शुक्रबार, २८ कात्तिक २०८२
एकातिर,
ऐश्वर्यका सपनाले थुपारेको
वैभवको हिमशिखर
सूर्यको तेजले झलमल्ल
सर्वत्र चम्किरहेछ।
तर त्यसैको छायामा
लोभको अँगालोमा
जकडिएको मन
अर्काको भागबाट निःशब्द
नाङ्गो थाल लुछिरहेछ
जहाँ जीवनको सहारा
क्षणभरमै
अनन्त शून्यमा विलीन हुँदै
जान्छ।
आधारभूमि चिरिएको छ
जिन्दगीको
ऊ परजीवीको नियन्त्रणमा
बाँच्दै
विवशताको पासोमा जीवन
घिसारिरहेछ।
एउटा कुनामा
वेदनाको क्रन्दन
भुइँमा
छचल्किएको छ;
शोकाग्निले तातो आँसु
बाफ बनेर उडाइरहेछ
मान्छेहरू आफ्नै शोकसँग
जुध्दै
प्रत्येक निमेष असहाय
बनेका छन्।
तर बाहिर
उदासीनताको पर्खाल यति
मजबुत र उँचो छ कि
न मानवीय दयाको
कुनै कम्पन महसुस हुन्छ
न आत्माको वन्दन नै कोही सुन्छ।
यो हातको बल
यो सत्ताको सिंहासन?
केवल रेतको महल हो
पहिलो लहरमै
ढलेर हराउँछ।
समयको तीव्र बहावले
शक्ति र घमन्डका
सबै किल्ला
एकैसाथ बगाएर लैजान्छ।
हेर, त्यो निर्दोष काया
सिट्ठीको धुनमा सिरेटोसँग
लड्दै
एउटा कुनामा कठ्याङ्ग्रिएर
बसिरहेकी छे।
यो वैभवशाली संसारमा
एक चिम्टी न्यानोपन पनि
भेटिएन
के यति मात्रै मानवता बाँकी छ?
यो भव्य सभ्यता
जहाँ प्रत्येक संवेदनाको मोल
तोकिएको छ
त्यो कठ्याङ्ग्रिएको अस्तित्व
अझै
न्यानोपनको अभावमा
थरथराइरहेछ।
के मानवताको हिसाब
यतिमै चुक्ता भयो र?
जीवनको माटोको गाग्रो
हजारौँ चोटले चर्किएको छ
छिद्रै–छिद्र परेको छ
त्यो भाँचिएको आधारमा
आशाको पानी कहाँ अडिओस् र?
सानातिना खुसीहरू यहाँ
जन्मनासाथै निसासी रहेछन्
अधूरा सपनाका चिहान बनेर
मौनतामै फर्किरहेछन्।